जीवन शैलीसमाचारस्वास्थ्यहेडलार्इन

जीवन एक संघर्ष अनेक,जीवनभर साथ दिनेले त छाड्छ यहाँ अरुको के भर

धरान/नमिता राई

सुखको जीवन काट्ने ईच्छा जो कोहीलाई पनि हुन्छ । तर समय र परिस्थितीका कारण मानिसले सोचे भन्दा फरक भईदिन्छ जीवन । भूपाल राईले पनि सुखको जीवन कटाउँला भनेर सपना देखेका थिए । उनी उदयपुर जिल्लाको गाईगाटबाट विगत ५० वर्ष अघि धरान छिरेका थिए । उनको बाल्यकाल धरानमै बित्यो । यतै बसे काम गरे दिनदिनै उमेर बढ्दै गयो जवानीमा अरुले जस्तै उनले पनि विवाह गरे । भूपालको २ जना बच्चाबच्ची पनि भयो । ती बालबच्चा पनि बढ्दै गयो । सोचेका थिए छोरोछोरी बढेपछि आफ्नो बुढेकालको साहरा बन्लान् भनेर देखेको सपना केवल सपनामा नै सिमित बन्न पुग्यो ।


बिहान बेलुका चुला बाल्न अहिले भूपाल धरानको भानुचोकमा मानिसको तौल नाप्ने मेसिन लिएर बस्छन् । उमेरले नेटो काट्दै गएका भूपाल सडक पेटीमा आवतजावत गर्ने मानिसले तौल नाप्लान् र १० रुपैया पाउँला भनेर आशामा हुन्छन् ।प्यारालाईसिसले थला परेका भूपाल अहिले एक्लै छन् । उनको छोरोछोरी विवाह गरेर कता कता गए उनलाई थाहा छैन । छोरोछोरीले त छाडेर गयो संगै बाँच्ने संगै मर्ने कसम खाएका जीवनसंगीनीले पनि उनलाई विगत १६ वर्ष अघि नै छाडिन् । भूपाल आधा भाग नचल्ने शरीर लिएर भानुचोमा बिहान देखि बेलुका सम्म ओहरदोहर गर्ने मान्छेले आफ्नो मेसिनमा तौल नाप्लान् र केही पैसा हात लाग्ला र बेलुका चुलो बालौला भन्नेमा उनको ध्यान हुन्छ ।


‘भाग्यमा दुख लेखेको रहेछ के गर्नु, बिहान उठ्छु चिया पिउँछु अनि मेसिन बोकेर भानुचोक आउँछु । बेसाहरा बनेपछि पहिला मागेर खान्थे, मैले मागेर खाएको देखेर नारायण चौकका भाईबहिनीहरुले मागेर खानु भन्दा आफैं दुई पैसा कमाएर खानु भन्दै मलाई तौल नाप्ने मेसिन किनेर दिनु भयो । त्यही मेसिनको साहराले दिनमा केही कमाई हुन्छ त्यहीबाट आएको पैसाले बिहान बेलुका चुलो बाल्छु’ उनले दुखेसो सुनाए ।


‘दिनमा कहिले दुई सय हुन्छ कहिले तीन सय सम्म पनि हुन्छ कहिलेकाही हुदैन पनि कमाई भएको दिन माछा मासु खान्छु । कमाई नभएको दिन थुक्पाले छाक टार्छु , सधै कमाई हुने भए खाना नै पकाएर खान्थे,सडकमा हिड्ने मान्छेमा भर पर्छ कमाई त्यसैले कहिलेकाही पैसा नै हुदैन, तनावमा हुन्छ त्यसबेला थुक्पाको सट्टा २० रुपैयाको जाँड पो खाईदिन्छु’ फिस्स हाँस्दै भूपालले कोशीपोष्ट डटकम संगको कुराकानीमा सुनाए । भूपालको तौल नाप्ने मेसिन पुरानो भएका कारण बास्तविक तौल नदेखाउदा आफ्नो वजन नाप्न आउने उनको ग्राहकहरुले पैसा दिन गाहे मान्ने गरेको देखिन्थ्यो । ‘मेरो कमाई खाने मेसिन पुरानो भईसक्यो । मान्छेहरु आफ्नो तौल नाप्न आउँदा राम्र्रो देखाउँदैन मान्छेहरु रिसाउँछन् । यसो मलाई पुलुक्क हेर्छन् नबोली १० रुपैया दिएर जान्छन्’ उनले पुरानो भईसकेको मेसिन देखाउँदै भने ।


‘सबैलाई खुशी र सुखी जीवन बिताउने रहर हुन्छ भाग्य र परिस्तिीले सोचे जस्तो जीवन नहुँदो रहेछ ।’ भूपालले लामो श्वास लिदै आफ्नो भोगाई सुनाए । प्यारालाइसिसले आधा शीरर नचलेपनि हातमुख जोड्नका लागि बैशाखीको साहरामा भूपाल भानुचोकमा बिहान उठेर आउँछन् । दिनभरी सडकमा कुर्दा कुर्दा केही पैसा हुन्छ, त्यही पैसा लिएर उनी कोठा तिर फर्कन्छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button