राजनीतिसमाचारहेडलार्इन

कमल थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तरङ्ग सिर्जना

काठमाण्डौं, koshipost.com

कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपामा तरङ्ग सिर्जना भएको छ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तरङ्ग सिर्जना भएको हो ।

थापाले पार्टी परित्यागको घोषणा गरेर काठमाडौँ फर्किएपछि लिङ्देन पक्ष आन्तरिक छलफलमा जुटेको बताईएको छ । हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डालाई सशक्त बनाउने लक्ष्य लिएको पार्टीबाट महत्वपूर्ण हस्ती थापा बाहिरिएपछि तरङ्ग सिर्जना भएको जानकारहरु बताउँछन् ।


गत मङ्सिर दोस्रो साता पार्टी अध्यक्षमा पराजित भएपछि थापाले आफूलाई निर्मल निवासले चुनाव हराएको दाबी गर्दै आएका थिए । त्यसै बेला देखि पार्टीले छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए । तर, अध्यक्ष राजेन्द्र लिङ्देनले यो विषयमा छानबिन हुन नसक्ने बताएपछि उनले पार्टी नै परित्याग गरेका छन् ।


मंगलबार (आज) हेटौडामा पत्रकार सम्मेलन गरी थापाले आफू राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । थापाको घोषणापछि अध्यक्ष लिङ्देनले यो निर्णयलाई दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । थापाले उठाएको मागका सन्दर्भमा पार्टी भित्र छलफल भइरहेकै बेला थापा बाहिरिनु दुर्भाग्यपूर्ण भएको लिङ्देनले बताए ।


थापाले पार्टी परित्याग गरेसँगै अध्यक्ष लिङ्देनले पार्टीभित्र हुनसक्ने सम्भावित क्षति रोक्न आन्तरिक छलफल तीव्र बताएका छन् । थापाले छिट्टै राप्रपाकै आफू निकटस्थ नेताहरूलाई समेटेर नयाँ पार्टी बनाउने सम्मको तयारी गरेको भनिएको बेला लिङ्देनले आन्तरिक तयारी थालेका हुन् ।


थापाले सोमबार राजधानीमा आफू निकटका नेताहरूको भेला बेलाएर माग सम्बोधन गर्न लिङ्देनलाई अल्टिमेटम दिएका थिए । निर्वाचनको मिति घोषणा अघि आफ्नो माग सम्बोधन गर्न थापाले लिङ्देनलाई दबाब दिएका थिए । सो अल्मिेटम समयमा माग सम्बोधन हुन नसकेपछि उनले गृह जिल्ला हेटौडामा पुगेर पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’


यथा थापाको टीमबाट चुनाव लडी निर्वाचित भएका उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भुवन पाठकले भने थापाको निर्णयअघि आफूहरूसँग कुनै छलफल नभएको दाबी गरेका छन् । मागबारे पार्टीभित्र छलफल भइरहँदा थापाबाट आएको निर्णय अप्रत्याशित भएको उनीहरूको भनाइ छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button