Uncategorizedसमाचारसमाजहेडलार्इन

धरान १० मा युवामाथि खुकुरी प्रहार

धरान,koshipost.com


सुनसरीको धरान १० मा युवामाथि खुकुरी प्रहार भएको छ । धरानको वडा नं १० स्थित पुतली लाइनमा एक युवामाथि खुकुरी प्रहार भएको हो । स्थानीय युवा डेनिस राईमाथि खुकुरी प्रहार भएको छ । उनको देब्रे खुट्टामा चोट लागेको छ । उनलाई खुकुरी प्रहार गर्ने त्रिचन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनको बचाउमा पुगेकी कांग्रेस नेतृ पञ्चकला राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका त्रिचन नेतृ राईको ज्वाँई भएको स्थानीयको भनाई छ । स्थानीयबासीको गुनासो पछि प्रहरीले कंग्रेस नेतृ राईलाई पनि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लगेको थियो ।


ईलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरिक्षक (डिएसपी) नरेन्द्र कुँवरले भने उनलाई नियन्त्रणमा नलिएको प्रतिक्रिया दिए । घटनाबारे छानबिनको लागि भ्यानमा हालेर ल्याउदा नेतृ राई पनि हुलमुलमा परेको डिएसपी कुँवरको भनाई थियो । उनले भने,‘मोवाइल टोलीले ल्याएको हो, पक्राउ गरिएको होइन । छानबिनको लागि त्यहाँ भएकालाई भ्यानमा हाल्दा पनि हुलमुलमा ल्याइएको हो ।’

नेतृ राईलाई भने छलफल पश्चात प्रहरीले श्रीमान्को जिम्मा लगाइसकेको छ । तर, खुकुरी प्रहार गर्ने त्रिचनलाई प्रहरीले नियन्त्रणमा नै राखेको जनाएको छ । उनी घरबाट भाग्ने प्रयास गर्दा प्रहरी र स्थानीयबासीले घेरा हालेर पक्राउ गरेको थियो । ‘खुकुरी प्रहार भएको घटना हो, जाहेरी दिइसकेको छ, दर्ता हुन्छ’ डिएसपी कुँवरले भने । घटनामा घाइते भएका डेनिसले प्रहरीमा जाहेरी दिइसकेका छन् । प्रहरीले साँझ त्रिचनको घरमा खान तलासी गरेर खुकुरी पनि वरामद गरेर लगेको छ ।

डेनिसमाथि किन खुकुरी प्रहार भएको भन्ने खुलेको छैन । स्थानीयबासीका अनुसार अघिल्लो दिन बिहिबार पनि उक्त क्षेत्रमा झगडा भएको थियो । तर, उक्त झगडामा पीडित भनिएका डेनिसको संलग्नता थिएन । निर्दोष रहेका डेनिसमाथि एक्कासी खुकुरी प्रहार भएको स्थानीयको भनाई छ । घाइतेको अवस्था अहिले सामान्य छ ।


खुुकुरी प्रहार भएपछि ज्वाँईलाई जोगाउन आएको भन्दै स्थानीयबासी कांग्रेस नेतृमाथि पनि आक्रोश पोख्दै पक्राउ गर्न प्रहरीलाई दबाब दिएका थिए । स्थानीय रत्नमणी राईका अनुसार त्रिचनलाई पक्राउ गर्न प्रहरी घरभित्र प्रवेश गर्न खोज्दा नेतृ राईले रोक्ने प्रयास पनि गरेकी थिइन् । नेतृ राईको छोरी ज्वाँईको घरमा दुव्र्यसनी युवाहरु भेला हुने भएकोले स्थानीयबासी रुष्ट भएको उनले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button