समाचारस्वास्थ्यहेडलार्इन

सुनसरीमा निषेधाज्ञा खुकुलियो बन्दै, २३ गतेदेखि होटल,रेष्टुरेण्ट र गाडी पनि चल्ने (निर्णय सहित)

इनरुवा,koshipost.com


सुनसरीमा निषेधाज्ञा खुकुलो बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गतेसम्म निषेधाज्ञा थपेर केही खुकुलो बनाएको हो । निषेधाज्ञा थप खुकुलो भएसँगै सार्वजनिक र निजी सवारी सञ्चालन हुने भएका छन् । प्रशासन कार्यालयले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याएपनि जोर–बिजोरका आधारमा सार्वजनिक सवारी सञ्चालन गर्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको डिसिसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । १० औं पटक निषेधाज्ञा अवधि थप गरिएको सुनसरीमा विस्तारै दैनिकीलाई सहज स्थितिमा फर्काउने तयारी थालिएको जनाइएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजनिक र निजी सवारी साधन जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय सोमबार बसेको बैठकले निर्णय गरेको जानकारी दिए । उनले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको बताउँदै झापा र मोरङसँग पनि यातायात सञ्चालनबारे समन्वय भइसकेकाले त्यसतर्फ जान पनि समस्या नहुने जानकारी दिए ।


त्यसैगरी प्रशासनले राजमार्ग छेऊछाउका होटल पनि सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए । ‘बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ती होटल, रेष्टुरेण्ट सञ्चालन हुन पाउँछन् ।’ हाम्रो कोशी आवाज डटकमसँगको कुराकानीमा उनले भने । कोभिड १९ महामारीको दोस्रो लहर शुरु भएपछि सुनसरीमा पहिलोपटक वैशाख १३ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।


यसअघि थपिएको निषेधाज्ञामा ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने पाउने छैन । संक्रमणको जोखिम यथावतै रहेकोले बालबालिका भेला हुने विद्यालय भने बन्द नै रहने भएका छन् । बाँकी क्षेत्रमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्नेछ ।


सरकारी, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्न दिने भएको छ । सभा, सम्मेलन, सेमिनार, गोष्ठी, जुलुस लगायतका कार्य गर्न रोक लगाइएको छ भने घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button