स्वास्थ्यहेडलार्इन

कोभिड–१९ को पिसिआर परिक्षण गराउन अस्पताल जान नपर्ने, घरमै पिसिआर परिक्षण

काठमाण्डौं

कोभिड –१९ को पिसिआर परिक्षण गराउनका लागि अस्पताल जान नपर्ने भएको छ । अब बिरामी व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब संकलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको छ ।


जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना संकलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पिसिआर परीक्षणका लागि प्रयोगशाला वा अस्पताल जानुपर्ने बाध्यता थियो ।

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि जो कोही व्यक्तिले पिसिआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए । उनले बिरामी भएको वा सङ्क्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पिसिआरका लागि नमूना संकलन गर्ने जनाए । उनले यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने बताए ।

अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट टे«सिङमा परेकालाई निःशुल्क र आफूखुशी पिसिआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले रु २ हजार लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड–१९ पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पिसिआर परीक्षणका लागि नमूना संकलन गर्ने उल्लेख गरिएको छ ।


घरमा गएर स्वाब संकलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्र्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना संकलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरी सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोगशालाले अहिले दैनिक करिब २० हजार पिसिआर परीक्षण गर्ने गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button