समाचारसूचना प्रबिधिस्थानीयहेडलार्इन

धरानमा बैंकहरु केही दिनका लागि बन्द गरिने

धरान,
धरानका बैंकहरु केही दिनका लागि बन्द हुने भएको छ । कोरोना नियन्त्रणका लागि धरानमा रहेका बैंकहरु बन्द गरिने भएको हो । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि धरानका बैंक बन्द हुने भएका छन् । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर धरानमा बैंकले सेवाग्राहीलाई प्रत्यक्ष सेवा नदिने जनाइएको छ ।


धरान उपमहानगरपालिकामा भएको छलफलमा कोरोनाको जोखिम बैंकबाट पनि रहेकोले बन्द गर्ने निर्णय भएको जनाइएको छ । ‘जेठ ७ गतेसम्मको लागि बैंकले प्रत्यक्ष दिइने सेवा बन्द गर्ने निर्णय भएको छ’, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने ।कोरोनाको जोखिम बढ्दै गएको र बैंक आफैले पनि सेवा दिन नसकेको जनाएपछि इ सेवा, एटिएम सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय भएको अधिकृत खतिवडाले जानकारी दिए ।


लकडाउन नै भएपनि धरानमा बैंक खुलिरहेका थिए । बैंक जाने बहानाले मुख्य सडकमा मोटरसाइकल रोकिराख्ने, बजार घुम्ने बढेको भन्दै अधिकांश बजारवासीको गुनासो बढ्दै गएको थियो । ‘हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि लकडाउन छ, तर बैंक आएको भन्दै घुमघाम बढेको गुनासो बढेको थियो, त्यसैको आधारमा पनि बन्द गर्ने निर्णयमा पुगेका हौं ’ अधिकृत खतिवडाले भने ।


कोरोना नियन्त्रणका लागि धरान उपमहानगरपालिका लागिरहेको छः मेयर


प्रतिकुल मौसमको समेत प्रवाह नगरी कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएकालाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सामजिक सञ्जाल मार्फत सन्देश लेख्दै धन्यवाद दिएका छन् । संक्रमितको शव व्यवस्थापनमा खटिएका नेपाल सैनिक, धरान उपमहानगरका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नगर प्रहरी प्रमुख विष्णु कोईराला, जेसिभीका प्रोपाइटर पवन अग्रवाल, शववाहन चालक भक्तबहादुर रोक्का, जेसिभीका अपरेटरलगायतका टिमलाई मेयर राईले धन्यवाद भनेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न धरान उपमहानगरपालिका लागिरहेको पनि धरानका मेयर राईले जानकारी दिएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button