राजनीतिसमाचार

संसद विघटनको विरुद्धमा धरानमा पनि कांग्रेसको विरोध प्रर्दशन

धरान,

संसद विघटनको विरुद्धमा शनिबार धरानमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सुनसरी क्षेत्र नं.१ (क)ले आज धरानमा दोस्रो चरणको विरोध प्रदर्शन गरेको हो । धरानको अमान बजारबाट निस्किएको विरोध ¥याली छाता चोक, पुरानो बजार, माछा भौडी, देशी लाइन हुँदै भानुचोकको लोकतान्त्रीक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा प्रधानमन्त्री ओली विरुद्धमा चर्को नाराबाजी गर्नुका साथै कांग्रेस नेता कार्यकर्ताहरुले कालो फेटा बाँधेर विरोधमा निस्केका थिए । कोण सभालाई सम्बोधन गदै प्रदेश सांसद तथा महासमिति सदस्य चन्द्र प्रसाद श्रेष्ठले कम्यूनिष्टहरुका कारण संविधान माथि नै खतरा भएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको आन्तरिक विवादलाई लिएर संविधानमाथि ‘कु’गरेको श्रेष्ठको भनाई थियो । ‘प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालको रिसले संविधानमाथि कु गर्यो,’नेता श्रेष्ठ भने,‘जनताले बनाएको संविधानमाथिको प्रहार कांग्रेसलाई कुनै पनि हालतमा सह्य हुदैन, संविधानको रक्षाको लागि कांग्रेस सडक संघर्ष गर्न तयार छ ।’ यस्तै कांग्रेस पूर्व धरान नगरसभापति किशोर राईले प्रधानमन्त्री ओलीले प्रतिगमनकारी ढंगबाट संविधानमाथी प्रहार गर्ने काम गरेको आरोप लगाए । त्यस्तै कांग्रेसका जिल्ला तथा नगरका नेताहरुले समेत संसद पुर्नस्थापनाको माग गरे । कांग्रेसले सुनसरीको ८ स्थानमा विरोधसभा गरेको छ भने देशभर ७ सय ५३ गाउँ तथा नगरमा एक साथ विरोध प्रदर्शन गरेको जनाएको छ ।

कांग्रेस नेतृ मिना सुब्बाले ओली नेतृत्वको सरकार दुई तिहाईको दम्भले असफल भएको टिप्पणी गरिन् । उनले कोभिडका कारण देश आर्थिक रुपमा कमजोर भइरहेको अवस्थामा निर्वाचन गराउने भनेर प्रचारबाजीमा लागेको भन्दै कडा आलोचना गरेकी थिइन् । ‘कोभिडका कारण देशको आर्थिक अवस्था थिलथिल छ, कराडौं खर्च गरेर चुनाव गर्नुपर्ने के आवश्यकता छ ?’ नेतृ सुब्बाले प्रश्न गरिन् ‘संसद पुर्नस्थापना गरेर संविधानलाई ‘कु’ गर्नबाट जोगाउनु अहिलेको आवश्यकता हो ।’ यस्तै, कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोलेले ओली नेतृत्वको सरकारले देशको विकास र समृद्धिको लागि भन्दा गतिरोध पैदा गरेको आरोप लगाए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button