समाचारसमाजहेडलार्इन

आठ जनाको ज्यान लियो मदिराले

जनकपुरधाम,

मदिराले आठ जनाको ज्यान लिएपछि अहिले गाउँ शोकमा डुबेको छ । होली पर्व खुशीयालीको पर्व हो । यस पर्वमा एक अर्कालाई रंग, अविर दलेर मनाइने गरिन्छ भने मासु लगायत मदिरा सेवन गर्नेहरुको संख्या पनि उत्तिकै हुन्छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का ब्रह्मदेव यादवले पनि रमाइलोका साथ होली मनाए । तर उनको यो अन्तिम होली बन्न पुग्यो। होलीका दिन सेवन गरेको घरेलु मदिरा उनको मृत्युको कारण बन्यो । ३५ वर्षीय ब्रह्मदेवको परिवार उनकै सहारामा थियो । तर मदिराले ज्यान लिएपछि परिवारको बिचल्ली भएको छ ।

चार छोरी र एक छोरा गरी पाँच सन्तान रहेका ब्रह्मदेवको मृत्युले उनको परिवार शोकमा छ । ब्रह्मदेवकी पत्नी धनलौट देवीकी अनुसार उनका पति नियमीत रुपमा मदिरा खाने गर्थे । होलीको दिन बुधवार पनि ब्रह्मदेव मदिरा सेवन गरेर आएका थिए । ‘बुधवार उनी आउँदा राम्रै थिए, खाना खाएर आराम गरे तर भोलिपल्ट बिहान करिब ४ बजे उनले वान्ता गरे’, धनलौटले भनिन्, ‘वान्ता भएपछि सुतेका उनी उठेर फेरि रक्सी खान गए ।’

भट्टीमा पुगि मदिराको बोतल उठाउन मात्रै खोजेका थिए, ब्रह्मदेव बेहोस भए । अस्पताल लगियो । अस्पतालमा उनको मृत्यु भयो । यतिबेलासम्म मदिरा सेवन गरेका उनका केही साथीहरुको पनि मृत्यु भइसकेको थियो । मदिरा सेवनकै कारणबाट मृत्यु भएका ६५ वर्षीय गुदरी मण्डलका छोरा सोमन महराले होलीमा बुवाले मदिरा सेवन गरेर आएका बताए । उनका अनुसार मदिरा सेवदको दोस्रो दिन उनको बुवाको टाउको दुखेपछि औषधी औषधि खाएका थिए । अवस्था गम्भीर भएपछि अस्पताल लगिएका उनको पनि मृत्यु भयो ।

मदिरा सेवनकै कारण २५ वर्षीय युवा क्षिरेश्वरनाथ नगरपालिका वडा नंं। २ का इन्द्रजित महराको समेत मृत्यु भयो । उनले एक वर्षअघि मात्रै विवाह गरेका थिए । मदिरा सेवनको कारण अहिले सम्म ८ जनाको मृृत्यु भएको छ । एउटै गाउँमा आठ जनाको मृत्यु भएपछि प्रहरीले दुईजना मदिरा व्यापारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तारापट्टी बाली नामले चिनिने एक महिला र रामानन्द साहलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button