अर्थ खबरसमाचार

धरानमा औद्योगिक व्यापार मेला शुरु, धरानलाई विशिष्ट औद्योगिक ग्राम बनाउँछौंः मन्त्री दुगड

धरान,

सुनसरीको धरानमा औद्योगिक व्यापार मेला शुरु भएको छ । १५ गते बिहिबार देखि धरानको पब्लिक हाइस्कुलको खेल मैदानमा औद्योगिक ब्यापार मेला शुरु भएको हो । मेला फागुन २४ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघीय राज्यमन्त्री मोतिलाल दुगडले गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री दुगडले उद्योगी,व्यवसायीका समस्यामा राज्य गम्भीर रहेको बताए । धरानलाई विशिष्ट औद्योगिक ग्राम स्थापनाका गर्न सरकार लागिपरेको उनले बताए । ‘हरेक जिल्लामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ, धरानलाई पनि बजेट छुट्याइसकिएको छ, धरानलाई विशिष्ट औद्योगिक क्षेत्र बनाउन लागिपरेका छौं ।’ मन्त्री दुगडले भने ।

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरे समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले देश समृद्ध बनाउन निजी क्षेत्र र राज्य दुवै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी र निजी क्षेत्रको मनोबल खस्किए देश समृद्धतर्फ जाँदैन’, उनले भने, ‘त्यसैले उद्योगी व्यवसायीको मनोबल खस्किन दिनुहुँदैन भन्ने पक्षमा सरकार लागिपरेको छ ।’ कार्यक्रममा बोल्दै उनले औद्योगिक प्रदर्शनीले उपभोक्तालाई फाइदा पुग्ने बताए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, प्रदेश नं. १ का उद्योग वाणिज्य महासंघका अध्यक्ष नरेन्द्रकुमार खड्का, प्रदेश नं. ५ का अध्यक्ष गुणनिधी तिवारी, प्रदेश सांसद् उमिता बराइली, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी लगायतले उद्घाटन कार्यक्रम बोल्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै मेला संयोजक शिवराज श्रेष्ठले विशेषतः उपभोक्तालाई फाइदा पुग्ने र सस्तो दर भाउमा सामान किन्न पाइने वातावरण सिर्जना गरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button