फोटो फिचरसमाचारहेडलार्इन

धरानका नवनिवाचित मेयर तिलक राईले पदभार ग्रहण लगत्तै कर पुनरावलोकन गर्ने निर्णयः फोटो फिचर सहित ..

धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन । मेयर राईले साढे १२ बजे साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेको हो । उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण गराएका थिए । त्यसअघि मेयर राईले धरान १६, गणेशमान चोकस्थित लौहपुरुष गणेशमानको सालिकमा माल्र्यापण गरेका थिए भने धरान १९, हरियाली वन समुह परिसरमा स्वर्र्गीय मेयर तारा सुब्बाको सालिकमा पनि माल्र्यापण गरेका थिए ।

पदभार ग्रहणसँगै मेयर राईले राजश्वका दरहरुप्रति जन गुनासोलाई सम्बोधन गर्न अध्ययन गरी सुझाव पेश गर्नको लागि बिशेषज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेका छन । यसअघि, पाँचौ नगरसभाले पारित गरेर लागु गरेको आर्थिक ऐन २०७६ को केही राजश्वका दरहरुप्रति व्यापक गुनासो र अस्पष्ट देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिनको लागि बिशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले जानकारी दिए । ‘करलाई व्यवहारिक र वैज्ञानिक बनाउने निर्णय भएको छ, यसमा सहयात्री राजनीतिक दलले पनि विश्वास दिएको छ, उहाँहरुले मंगलबार नै विज्ञप्ती निकालेर नगरपालिकालाई प्रोत्साहन गर्नुभएको छ,’मेयर राईले भने,‘राजनीतिक दल र नगरबासीहरुको भावना अनुसार कर पुनरावलोकन गरेर कार्यान्वयन गर्न चाहन्छँु ।’

नवनिवाचित मेयर राईले उपमहानगरमा आउने सबै मुद्दा एवं एजेण्डाहरु व्यक्तिगत र पार्टी बिषेशको नभै समग्र नगरबासी र नगरको हितमा हुने पनि बताए । उनले यसअघि कार्यपालिका बोर्डले नगरबासी र नगरको हितमा अगाडि बढाएको योजनाहरु विना हिच्किचावट आफुले पनि अगाडि बढाउने बताए । साथै, अन्य बिषयहरुमा छलफलको माध्यमबाट निर्णय लिइने पनि मेयर राईको भनाई थियो । ‘म भर्खर आएँ, सिंगो टिमले अढाई बर्षको अनुभव संगालीसकेको छ, म त्यो टिमको नेतृत्व लिने गरी थपिएको छँु । पक्ष, प्रतिपक्ष भनेर नबुझिदिन आग्रह गर्न चाहन्छु । मेरो सहयोगीको रुपमा उपप्रमुख, कार्यपालिका बोर्ड, प्रमुख प्रशासकीय हुनुहुनेछ । सिंगो टिमले मिलेर काम गर्ने हो,’पत्रकारहरुसँग प्रतिक्रिया दिदै मेयर राईले भने,‘कर्मचारी साथीहरुलाई पनि विना हिच्किचाहट इमान्दारीता पुर्वक, सक्रियतापुर्वक काम गर्न आग्रह गर्न चाहन्छु । उहाँहरुबाट आज स्वागत पाएँ, यो उत्साह कार्यगत एकतामा र कार्यसम्पादनमा लगाउन आग्रह गर्न चाहन्छु ।’

मेयर राईले उपमेयरले झण्डै डेढ बर्ष कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकाले सहयोगको अपेक्षा पनि व्यक्त गरे । ‘उहाँको कार्यअनुभव, कार्यदक्षता र क्षमता अनुसार नगरपालिकाले जिम्मेवारी, भुमिका दिनेछ, खुम्च्याउने छैन । वडाअध्यक्ष साथीहरुलाई हिजो जे अनुभव गर्नुभएको छ, त्यसलाई अझै परिष्कृत गरेर नगरबासीको हकहितमा लगाउनेछौं,’मेयर राईले भने,‘यो जित एक व्यक्ति, दलको मात्र होइन, सम्पुर्ण धरान नगरबासी र दलहरुको जित भएकोले सबै दल, कार्यपालिका, कर्मचारी प्रशासन एक भएर काम गर्नेछौं ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button